चितवनमा चट्याङ लागेर एकको मृत्यु एक घाइते



नारायणगढ (चितवन) । जिल्लाको कालिका नगरपालिका–१० स्थित पाईमराङमा आज दिउँसो परेको चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चट्याङ लागेर पाईमराङका ५० वर्षीय दिलबहादुर प्रजाको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर पूर्वतर्फ आफन्तको घरमा गएको बेलामा आज दिउँसो ३ बजे उनलाई चट्याङ लागेको थियो । 


त्यसैगरी सोही चट्याङ लागेर सोही स्थानकी २४ वर्षीय सरिता चेपाङ घाइते भएको यादवले जानकारी दिए । घाइते चेपाङको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ । घाइते चेपाङको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।