चंखेलीमा जिप दुर्घटना : गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो



हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । 

बुधबार बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


गम्भीर घाइते भएका चंखेली–२ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायाँनाथ नगरपालिका–१३ का रमेश मल्ल र रारा छायाँनाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत पठाइएको हो ।

यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चंखेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ । तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिए ।

कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप आज बिहान ८ बजेतिर दुर्घटना भएको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जिप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टी अड्किएको छ ।