गाजा युद्धमा घाइते भएका ४१ प्यालेस्टिनीलाई उपचारका लागि मलेसिया लगिँदै



गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई शुक्रबार उपचारका लागि मलेसिया लगिएको अधिकारीहरूले बताएका छन् । आठ महिनादेखि ६२ वर्ष उमेर समूहका प्यालेस्टिनीलाई मलेसियाली वायु सेनाको दुईवटा यातायात विमानमा इजिप्टको राजधानी कायरोबाट उपचारका लागि बहुसंख्यक मुस्लिम राष्ट्रमा लगिएको हो ।

“हामीले यो मिसन विशुद्ध रूपमा मानवीय दृष्टीकोणबाट प्यालेस्टाइनका जनतासँग हाम्रो एकता देखाउनका लागि गरेका हौँ”, मलेसियाका रक्षामन्त्री मोहम्मद खालिद नोर्डिनले भने । घाइतेहरुको स्थिति १९ घण्टासम्मको उडानको लागि ठीक छ वा छैन भन्ने मूल्याङ्कनपछि मात्र उनीहरुलाई उपचारका लागि लगिएको नोर्डिनले बताए ।


घाइतेहरूका साथमा परिवारका ८६ जना सदस्य वा नजिकका आफन्तहरू थिए। इजरायली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणबाट गाजा युद्ध सुरु भएको थियो जसको परिणामस्वरूप १ हजार १९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक थिए ।