एमालेले गर्‍यो बागमती प्रदेशमा १९ सदस्यीय संयन्त्र गठन



काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको गठन तथा यसको पहिलो बैठक सम्पन्न भएको छ ।

एमाले बाग्मती प्रदेश कमिटीको कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले संयन्त्रको आवश्यकता, औचित्य र भूमिकाका बारेमा निर्देशनात्मक मन्तव्य राखेका थिए । महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।


उनले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताए । महासचिव पोखरेलले अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको र पार्टीको अबको ध्यान बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसको लागि पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउनुपर्ने उनले बताएका थिए ।

एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा। राजन भट्टराईको अध्यक्षतामा भएको बैठकमा पार्टीको बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्ला कमिटी इञ्चार्ज र प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो । सो बैठकमा जिल्ला ईन्चार्जहरूले संयन्त्रका बिषयमा र सङ्गठन लगायत अन्य बिषयमाथि आ–आफ्नो जिज्ञासा र सुझावहरू राखेको एमालेले जनाएको छ । बैठकको सञ्चालन प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । बैठकले १९ सदस्यीय संयन्त्रलाई औपचारिकता दिएको छ ।