एकीकृत समाजवादीका तीन जना नेता वरिष्ठ नेतामा मनोनित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । बाँकी पदाधिकारी र पोलिटव्यूरो सदस्य चयनका लागि एकीकृत समाजवादीले निर्वाचन नै गर्नुपरेको थियो ।


वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरेका छन् । घनेन्द्रले त वरिष्ठ उपाध्यक्षमा मनोनयन नै दर्ता गराएका थिए । अन्तिम समयमा उनले मनोनयन फिर्ता लिएपछि राजेन्द्र प्रसाद पाण्डे वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।