आफ्नै ठाउँमा सेवा पाउन थालेपछि स्थानीय खुसी



जलेश्वर (महोत्तरी) । जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज सुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका छन् ।

वर्षौंदेखि ४० किलोमिटर टाढा रहेको सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट भूमिसम्बन्धी सेवा लिन बाध्य रहेका त्यस क्षेत्रका बासिन्दा अब आजदेखि आफ्नै गाउँठाउँमा सेवा प्राप्त गर्न थालेपछि खुसी भएका छन् ।


महोत्तरीको गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिदबिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पासलगायत काम गौशाला बजारस्थित मालपोत र नापी कार्यालयबाट हुने गरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कार्यालयको उद्घाटन गरे ।

आजदेखि त्यस क्षेत्रका चार पालिकाका हजारौँ जनताका जग्गासम्बन्धी सबै कामकाज अब गौशालाबाट सुरु भएको छ । सोमबार मालपोत र नापी दुवै कार्यालयको उद्घाटन भएसँगै आजदेखि त्यस क्षेत्रका गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिद, बिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पास, दृष्टिबन्धक पासलगायत कामहरु सुरु भएको हो ।

गौशाला निवासी हजारी साहले वर्षौंदेखि जग्गासम्बन्धी सानोतिनो कामदेखि ठूलठूला सबै कामका लागि ४० किलोमिटर टाढा सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता अब आफ्नै स्थानीय तहमा मालपोत र नापी आएपछि हटेको तथा यसले आफूहरु निक्कै खुसी भएको बताए ।

औरहीका धमेन्द्र यादवले पनि आफ्नो पालिकालाई पायक पर्ने गौशालामा यस क्षेत्रका मालपोत र नापीसँग सम्बन्धित जग्गाका सम्पूर्ण कामकाज हुन थालेपछि आफूहरुको समय, पैसा र श्रमको बचत भएको तथा यसले आम जनमानसमा निकै खुसी ल्याएको बताए ।

सम्सीका विजय यादवले जग्गासम्बन्धी कामकाजका लागि सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयमा भर पर्दै आएको व्यवस्थाको अन्त्य भएर आम जनताले आफ्नै गाउँपालिकाको पायक पर्ने ठाउँमा सेवा प्राप्त गर्न थालेपछि एउटै कामका लागि तीन÷चार दिनसम्म पनि जलेश्वर धाउने झन्झटबाट मुक्ति मिलेको र अतिरिक्त पैसा, समय तथा श्रमको बचत भएको बताए ।