आज आठ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत आठवटा संसदीय समितिको बैठक बस्दै छ । अहिले बिहान ९ बजे बस्ने अर्थ समितिको आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।


साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।

साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ समिति (सयुक्त) को बैठकमा राजदूतमाथिको उजुरीबारे छलफल हुँदैछ।

दिउँसो २ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।