अस्पतालबाट थुनुवा फरार



झापा । इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो ।


हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएको थियो ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।

कुखुराको खोरमा पेस्तोल भेटियो

यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका वडा नं ४ दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेको कुखुराको खोरमा एक थान कटुवा पेस्तोल फेला पारेको छ ।

घरधनी आङ्देम्बेलाई मङ्गलवार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले बताए । “हतियार लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले आङ्देम्बेको घरमा खानतलासी गरेको थियो”, सूचना अधिकारी चन्दले भने, “घर छेउको कुखुराको खोरको खरको छानोभित्र पहेलो प्लाष्टिकमा पोको पारेर लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल भेटियो ।”

यसअघि अर्जुनधारा वडा नं ४ देवानचोक निवासी २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाइ राखिएको अवस्थामा गत साउन २६ गते राति १०ः३० बजे एक थान भरुवा बन्दुक बरामद भएको थियो । अर्जुनधारा–७ मिलडाँडास्थित इन्दिरा अधिकारीको किराना पसलमा चोरी भएको घटनाका अभियुक्तको खोजतलास गर्दै जाँदा प्रहरीले भरुवा बन्दुक फेला पारेका हो ।

भरुवा बन्दुकसहित प्रहरीले उक्त घटनामा अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङ, अर्जुनधारा–३ का २१ वर्षीय निखिल तामाङ र अर्जुनधारा–४ कै १९ वर्षीय आदित्य लिम्बुलाई चोरीका गरगहनासहित पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।