अमर व्यक्तित्वः पण्डितराज नयराज पन्त



काठमाडौं। बहुआयामिक प्रतिभासम्पन्न, आजन्म सरस्वतीभक्त, सत्यतथ्यको खोज तथा प्रकाशनमा अनवरत र अथकित अन्वेषण गर्ने, नेपाली इतिहासलेखन विधाका सशक्त सारथि, गणितज्ञ, ज्यौतिष, बहुभाषाविद्, शैक्षिक पुनर्जागरणका अग्रणी, साहित्यकार जस्ता अनेकौँ विशेषता भएको मानवताका एक सरल पात्रको नाम हो; नयराज पन्त।

नेपालको शिक्षाको इतिहासमा सर्वाधिक चर्चित उहाँ जस्ता व्यक्तित्वको गुणानुवर्णन शब्दकोशमा भएका सबै सकारात्मक विशेषणले भर्दा पनि अपुरो र अधुरो नै रहन् । यस्ता युगानुयुगसम्म नेपाली जनमानसमा ताजा रहने विद्वान् पण्डित नयराज पन्तका कार्य, कृति र योगदानको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने सामथ्र्य, क्षमता, ज्ञान र सीप ममा किमार्थ छैन।


नयनाथ पौडेल, अच्युत अधिकारी जस्ता सज्जनहरूले नयराज पन्तका सन्दर्भमा अनुसन्धान नै गरी विद्यावारिधि हासिल गरेको प्रसङ्ग स्मरणीय छ। यस्ता युगपुरुष नयराज गुरुको ११२ औँ जन्मजयन्तीका अवसरमा इतिहासको विद्यार्थीका नाताले गुरुलाई श्रद्धासुमन व्यक्त गर्ने मनसायले यो श्रद्धाञ्जली आलेख तयार पारिएको हो।

नयराज पन्तको जन्म विसं १९७० साल श्रावण २६ गते काठमाडौँमा भएको थियो। करिब डेढ वर्षमा नै पिताजी गुमाउनुभएका पन्तको शिक्षादीक्षा पालनपोषण मावली बाजे पण्डित भुवननाथ पाँडेबाट भएको हो। बाजेकै प्रेरणा र आशीर्वादबाट उहाँ इतिहासको अध्ययन तथा अनुसन्धानतर्फ केन्द्रित हुनुभएको सन्दर्भको चर्चा स्वयम्ले गर्नुभएको छ।

उहाँले १९ वर्षको उमेरमा विसं १९८९ मा भारतको बनारसमा ज्यौतिष विषयमा अध्ययन कार्य थालनी गर्नुभई ज्योतिष विषयमा नै स्नातकोत्तर तह अब्बल श्रेणीमा उत्तीर्ण गरेपछि १९९५ सालमा काठमाडौं फर्कनुभयो। प्रारम्भमा रुद्रराज पाण्डेको सदासयबाट गुठी अड्डाका पुराना कागज अध्ययन, टिपोट र संरक्षण गर्ने काम पाउनुभयो।

विसं १९९७ सालदेखि भाषानुवाद परिषद्मा काम गर्न प्रारम्भ गरी सोही सालदेखि नै रानीपोखरी संस्कृत पाठशालामा पढाउने दायित्व पनि ग्रहण गर्नुभयो। करिब ६ दशकसम्म निरन्तर राष्ट्रसेवामा समर्पित पण्डित नयराज पन्तले २००८ सालसम्म रानीपोखरी संस्कृत पाठशालामा पठनपाठन गर्नुभयो ।

विसं २०१० सालसम्म नेपाली भाषा प्रकाशिनी समितिमा र विसं २००८ देखि विसं २०२२ सम्म नेपाल राजकीय संस्कृत विद्यालयमा सेवा गर्नुभएको थियो। विसं २०३३ देखि विसं २०३५ सम्म त्रिभुवन विश्वविद्यालयमा सेवारत रहनुभएका पन्तले २०३६ सालदेखि ४ पटकसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य भई उल्लेख्य सेवा गर्नुभएको थियो।

प्रा.डा. तीर्थप्रसाद मिश्र

पन्तले विसं २००९ सालमा संशोधन मण्डल र गुरुकुलको परम्पराअनुसार पठनपाठन गर्ने पाठशाला पनि स्थापना गर्नुभयो । सोही पाठशाला र संशोधन मण्डलको उद्देश्यलाई सार्थक बनाउन सदैव तपस्यारत रहनुभयो। संस्कृत, हिन्दी र नेपाली भाषामा विशेष दख्खल राख्नुभएका पन्त गुरु अंग्रेजी पढ्ने र बुझ्ने समेत सामथ्र्य राख्नुहुन्थ्यो।

नेपाली भाषामा नेपालको प्रामाणिक इतिहासको पुस्तक सर्वथा अभाव भएको अवस्थामा २००४ सालमा नयराज पन्तले तोत्रराज पाँडेसँग मिलेर नेपालको संक्षिप्त इतिहास प्रकाशन गर्नुभएको थियो। पन्त गुरुकै शिष्यहरूले तयार पारेको ऐतिहासिक पत्रसङ्ग्रह (भाग १ र २), जयरत्नाकर नाटक, इतिहास संशोधनको प्रमाण-प्रमेय, अभिलेखसङ्ग्रह जस्ता ग्रन्थमा उल्लेख भएका उपोद्घातबाट उहाँको विलक्षण क्षमता बुझ्न सकिन्छ। विसं २०२५ सालमा उहाँकै निर्देशनमा देवीप्रसाद भण्डारी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य तथा दिनेशराज पन्तद्वारा तयार पारिएको श्री ५ पृथ्वीनारायण शाहको उपदेश प्रकाशित भयो।

विसं २०२९ सालमा उहाँका प्राचीन र नवीन गणितको तुलना र २०४३ सालमा लिच्छवि संवत्को निर्णय प्रकाशित भए। संशोधन मण्डलबाट तयार पारिएका सावधानपत्र र मुखपत्र पूर्णिमा पन्त गुरुको अनुसन्धानकै उपज हुन्। पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरूबाट नेपालको इतिहासको क्षितिज नै फराकिलो हुन पुगेको छ।

पन्त गुरुका पद्य साहित्यका कुरा, पण्डित गोपाल पाँडे र उनको धनमूल ल्याउने नीति, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रीक ज्यौतिषको तुलना, रत्नदीप, विश्रान्ति, सुमतितन्त्रलगायत करिब ३० वटा ग्रन्थहरू प्रकाशित भएका छन्।

नयराज पन्त नेपालको इतिहासलेखन विधाका भीष्मपितामह हुन् । इतिहास तथ्य र प्रमाणको आधारमा लेखिनुपर्छ भन्ने उहाँको मान्यता थियो। लिच्छविकालदेखिका अभिलेख शिलालेखहरूको खोजी तथा सङ्कलन र व्याख्या तथा विश्लेषण गर्ने कार्यमा पनि उहाँ अग्रणी नै हुनुहुन्थ्यो।

गुरुकै निर्देशनमा धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, शंकरमान जोशी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, ज्ञानमणि नेपाल तथा महेशराज पन्तले अभिलेखको खोजी गरी प्रकाशन गरेका थिए।

उहाँबाटै दीक्षित भएका धनवज्र वज्राचार्यले लिच्छविकाल, मध्यकाल र शाहकालका अभिलेखहरू सङ्कलन गरी प्रकाशनमा ल्याएका छन्। भगवान्लाल इन्द्रजी तथा नोलीहरूले अभिलेखहरूको पठन र व्याख्यामा गरेका कमजोरीहरू पनि उहाँले औल्याउनुभएको छ।

नेपाली विद्वान्हरूले विदेशीहरूले लेखेका कृतिहरूलाई परीक्षण नै नगरी लेख्ने गरेकामा कटु आलोचकका रूपमा उहाँ प्रस्तुत हुनुभयो। सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, ढुढडीराज भण्डारी आदिले लेखेका

किताबमा भएका त्रुटि तथा कमीकमजोरी र इतिहास दर्शनको विपरीत भएका विवरणहरूको सप्रमाण खण्डन गर्ने जस्ता कार्य संशोधन मण्डलबाट भयो। यसबाट आफूलाई स्थापित इतिहासकार भन्न रुचाउने कतिपय व्यक्तिहरू नाखुस पनि भए।

विदेशीहरूले प्रवाह गरेको सूचना र घटनालाई परीक्षण नै नगरी अनुसरण गर्ने तथा संशोधन मण्डलद्वारा प्रकाशित ग्रन्थहरूको आधारमा ऐतिहासिक घटनाको विश्लेषण गर्ने तर स्रोत चाहिँ नखुलाउने विद्वान्हरूको त गुरुले उछितो नै काट्नुभयो।

उहाँले विश्वविद्यालयमा इतिहास नै पढाउने शिक्षकहरूको क्षमता र योग्यता तथा उनीहरूका प्रकाशनमाथि पनि प्रश्न उठाउनुभयो। नेपालका कवि साहित्यकारहरूको भाट प्रवृत्तिको पनि निन्दा गर्न उहाँ पछि पर्नुभएन। राणाकालको स्तुतिगान गर्ने लेखकहरूले नै २००७ सालपछि राणाहरूलाई नै तथानाम गाली गरे। उनीहरूको यस्तो अवसरवादी प्रवृत्तिको पनि उहाँले उजागर गरिदिनुभयो।

यस्ता कार्यले गर्दा नेपालको इतिहासमा कलम चलाउनेहरू सचेत मात्र भएनन्, प्रामाणिक इतिहास लेखनतर्फ पनि अग्रसर भए। पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरू त इतिहासलेखन र शोध कार्य गर्नेहरूका लागि असल खुराक बन्न पुगे। आज पनि नेपालका लिपि विशेषज्ञहरू सबै पन्त गुरुका शिष्य नै छन्।

पण्डित नयराज पन्तले स्थापना गरेको गुरुकुलबाट दीक्षित चेलाहरूले स्वदेश र विदेशमा पनि प्रसिद्धि कमाएका छन् । धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त जस्ता गुरुका अब्बल शिष्यहरू स्थापित इतिहासकार बन्न पुगेका छन्। त्यसैगरी देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल आदिले पनि आआफ्ना क्षेत्रमा ख्याति आर्जन गर्न सफल भएका छन् ।

आफ्ना शिष्यहरूको कार्यबाट प्रसन्न हुने गुरुको बानी थियो। उहाँले आफूले पाएको सुप्रबल गोर्खा दक्षिण बाहु पदक पनि तिनै योग्य शिष्यको कारणले पाएको हो भन्ने कुरा उल्लेख गर्नुभएको छ। नयराज पन्तले आफ्ना चेलालाई सम्बन्धित क्षेत्रमा विज्ञ र दक्ष बनाउनुभयो भने तिनै शिष्यले गुरुको नाम पनि अमर बनाएका छन् । संसारमा एउटै गुरुबाट यति सङ्ख्यामा विशेषज्ञ जनशक्ति उत्पादन गरेको घटना बिरलै पाइन्छ होला।

नयराज पन्तले आफ्नो सिद्धान्त, आदर्श, मान्यता र कार्यलाई स्वीकार्य बनाउन ठूलो तपस्या गर्नुभएको थियो। उचित प्रश्रय, सदासयता, प्रशंसा र खातिरदारी नपाउँदा पनि उहाँको अर्जुनदृष्टिमा परिवर्तन भएन। बिस्तारै बिस्तारै उहाँको ईष्र्या गर्ने, खेदो खन्ने तथा प्राज्ञिक क्षमतालाई अवमूल्यन गर्नेहरू पनि उहाँको प्रशंसक बन्दै गए र संशोधन मण्डलको योगदानप्रति नतमस्तक हुँदै गए।

नयराज पन्त र उहाँका शिष्यहरूले पाएको सम्मान, पुरस्कार र सराहनाबाट यो कुरा निर्विवाद तथ्य सावित भइसकेको छ। नयराज गुरुले २०४२ सालमा लिच्छवि संवत्को निर्णय ग्रन्थमा मदन पुरस्कार पाउनुभएको थियो भने २०४५ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाउनुभएको थियो। उहाँले २०५३ सालमा आदिकवि भानुभक्त पुरस्कार र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको थियो।

मदन पुरस्कारका लागि स्वयम्ले निवेदनसमेत नदिएर प्रकाशकले दिएको प्रसङ्गको चर्चा कमलमणि दीक्षितले गर्नुभएको छ। यथार्थमा भन्ने हो भने यी सम्मान प्रदान गरेर गुरुभन्दा पनि स्वयम् सम्मान गर्ने संस्था नै सम्मानित हुन पुगेका छन्।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले आफू पदमा रहँदा कति उल्लेख्य काम गरे, अनुसन्धान गरे, ग्रन्थ प्रकाशन गरे ? त्यसको लेखाजोखा कसैले गरेको पनि छैनन् तर प्रज्ञा प्रतिष्ठानले गुरुबाट अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गरेको कुरा त्यसबेला उहाँबाट प्रकाशित भएका ग्रन्थ लेखरचनाहरूबाट स्पष्ट हुन्छ।

दण्डवते नीति र कार्यबाट सदैव पृथक् रहने तथा राजनीतिमा नलाग्ने तर सरोकार राख्ने उहाँको विशेषता थियो। राणा, राजा र कांग्र्रेस नामक कृतिमा उहाँको दैनिकीमा उल्लेख भएको बुँदाबाट यो कुरा स्पष्ट हुन्छ। उहाँले विसं २००७ साल कार्तिकदेखि २००८ सालसम्मका महत्त्वपूर्ण घटना टिपिएको डायरी २०८० सालमा उहाँका पुत्र एवम् शिष्य डा महेशराज पन्तले सम्पादन र अनुवाद गरी प्रकाशन गरेका छन्।

यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलगायत सबैले राजीनामा दिँदा पनि उहाँले दिनुभएन, आफ्नै आदर्श मान्यतामा अडिग रहनुभयो। विसं २०४६ पछि गठित प्राज्ञमा पण्डित नयराज पन्तलाई समावेश गरी प्रज्ञा प्रतिष्ठानको गरिमा बढाएको प्रसङ्ग स्मरणीय छ।

ज्यौतिषका प्रकाण्ड विद्वान् हुनाले ऐतिहासिक काल गणनाको निम्ति उहाँले पहिल्याउनुभएको परम्परागत कालगणना वैज्ञानिक र विश्वसनीय हुन पुगेको छ। संस्कृत वाङ्मयमा पारङ्गत गुरु नयराज नेपालको ऐतिहासिक तथ्योत्खननमा प्रथम आचार्य र एक सिङ्गो संस्था हुनुहुन्थ्यो भने उहाँ स्वयम् एक इतिहास हुन पुग्नुभएको छ।

साधारण पहिरन रहनसहन खानपिनमा रमाउने पण्डित नयराज पन्त सरस्वतीभक्त हुनुहुन्थ्यो। लक्ष्मीको पछाडि उहाँ कहिल्यै पनि लाग्नुभएन यही कारणबाट नै नयराज पन्त सर्वमान्य गुरु नयराज पन्त हुन सक्नुभयो।

आफ्नो कमाइ सबै संशोधन मण्डलको लालनपालनमा खर्च गर्नुभयो। कसैबाट कुनै अपेक्षा गर्नुभएन, कसैसँग हात पसार्नुभएन। यस्ता विद्वान् त अब इतिहासमा मात्र भेटिने आँकलन गर्न सकिन्छ।

पाश्चात्य विद्यालाईभन्दा प्राच्य विद्यालाई महत्त्व दिने पन्त गुरु शैक्षिक संस्थाबाट प्राप्त हुने त्रिखण्डी शिक्षाबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्ने अडानमा दृढ रहनुभयो। ज्यौतिषशास्त्रमा उहाँले प्रतिपादन गर्नुभएका सिद्धान्त र विश्लेषणबाट विश्वमा नै उहाँ जस्ता व्यक्तित्व नभएको टिप्पणी पनि गर्ने गरिएको छ ।

कथ्य, मिथ्य र तथ्यको मिश्रण गरी इतिहास लेख्ने र वंशावलीलाई नै इतिहास हो भन्ने मानसिकता बोकेको जमानामा उहाँ इतिहास सत्य र तथ्यमा आधारित हुनुपर्छ, इतिहास विज्ञान र कला दुवै हो भन्ने सिद्धान्तका प्रणेता हुनुहुन्थ्यो।

वास्तवमा नेपालको इतिहासलेखन विधाका महारथी नै पण्डितराज नयराज पन्त हुनुहुन्थ्यो। यस्ता व्यक्तिका विषयमा सरकारबाटै अध्ययन अनुसन्धान गर्ने तथा नाममा प्रतिष्ठान स्थापना हुनुपर्ने आवाज उठ्न थालेको छ तर यो आवाज सरोकारवालासम्म पुग्न सकेको छैन।

यस्ता व्यक्तिको स्मरणबाट मुलुककै प्रतिष्ठा बढ्ने र भावी पुस्तालाई प्राज्ञिक खुराक मिल्ने कुरामा दुईमत नहोला। उहाँले देखाउनुभएको मार्गको अनुशरण गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास गर्न सकिन्छ।

पण्डित नयराज पन्तको नश्वर शरीर जहाँ पुगे पनि उहाँका कृति तथा योगदान र संशोधन मण्डलले गुरुलाई अजरामर बनाएका छन्। अन्त्यमा कवि भानुभक्त पोखरेलका निम्न उद्गारबाट म यस लेखको बिट मार्दछुः

हो व्यक्ति त्यस्तो नयराज पन्त
सत्कर्मले जीवित जो रहन्छ ।
शरीर मक्किने मकाओस्
व्यक्तित्वको दीपक धप्धपाओस् ।