हवाई सुरक्षामा कडाइ गर्न सरकारसँग देउवाको माग



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन माग गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलायन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले हवाई सुरक्षामा कडाइ गर्न माग गरेका हुन् ।

‘सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निकै मर्माहत भएको छु । दुर्घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु ।’


बुधबार बिहान काठमाडौंको विमानस्थलबाट उडेलगत्तै भएको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ ।