सोमालियाको राजधानी मोगादिशुको एक रेस्टुरेन्टमा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।
विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए ।
उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।
आइतबार सहरको केन्द्रमा रहेको रेस्टुरेन्टमा विस्फोट हुँदा रातको आकाशमा ठुलो आगोको लप्को र धुवाँको मुस्लो उडिरहेको अनलाइनमा पोस्ट गरिएका तस्बिरमा देखिन्छ ।
विस्फोट भएको केही मिनेटपछि घटनास्थलमा पुगेका प्रहरी अधिकारी मोहम्मद सलादीले भग्नावशेषमा धेरै शव फेला परेको बताए । घटनामा भवन बाहिर सडक क्षेत्रमा गाडी चलाइरहेका सवारी चालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए ।
रेस्टुरेन्टभित्र चार जनाको मृत्यु भएको र तीमध्ये केहीलाई भग्नावशेष मुनिबाट निकालिएको उनले बताए । कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित सोमाली राष्ट्रिय समाचार संस्थाले अल-कायदासँग सम्बन्धित अल–सबाब जिहादी समूहले आक्रमण गरेको संकेत गरेको छ ।
सोमालियाको कमजोर संघीय सरकारविरुद्ध अल–शबाबल १७ वर्षभन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ । यसै क्रममा मोगादिशु र देशका अन्य ठाउँमा थुप्रै स्थानमा उक्त समूहले बम विस्फोट गराएको छ ।
प्रत्यक्षदर्शीले विस्फोटपछि आतंक र अराजकताका दृश्यहरू वर्णन गर्दै मानिसहरू सुरक्षाको लागि हतारिँदा क्याफेको मुख्य प्रवेशद्वार पूर्णरूपमा आगोले जलेको बताइएको छ ।