सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरू



काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरू भएको छ। डिल्लीबजारस्थित सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए।

‘प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ’, उनले भने, ‘प्रदर्शनी साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।’


प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने छ। लिगमा ४० भन्दा बढी रोबर्टहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै ‘रोबो वार ब्याटल’मा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने जनाइएको छ।

प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ। विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ।

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनु रहेको छ। विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ।

‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ। आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई आइटी अध्ययन किन जरूरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने ।

विद्यार्थीले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुसी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताइन्।

फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने छ। प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरू राखिएको छ।