सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान



गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुदान उपलब्ध गराएको छ ।

सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।


उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उनले जानकारी दिए ।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य हाल्न ५० , बोडो पेष्ट गरेबापत्रु ४०, बोडो मिक्सचर स्प्रेबापत् ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत् ३० गरी एक सय ५० प्रदान गरिएको हो ।

किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिए ।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ ।