सुदूरपश्चिम । २७ दिनदेखि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका उनले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनका लागि प्रदेशसभालाई पत्र पठाउँदै उनले शुक्रबार ४ बजेका लागि बैठक राखिदिन अनुरोध गरेका छन् । सोडारीले १८ साउनसम्म विश्वासको मत लिईसक्नुपर्नेछ । स्रोतका अनुसार विश्वासको मत नपाउने निश्चित भएको हुँदा उनले प्रदेश सभामा आफ्नो कुरा राखेर राजीनामाको घोषणा गर्नेछन् ।
सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।
यता कांग्रेस र एमालेसहितको गठबन्धनलाई ३७ सांसद्को साथ छ । सोडारीको सरकार ढलेपछि सुदूरमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।