अस्ताना, कजाखस्तान । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उनले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरेका छन् ।
रूसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङ बिहीबार मध्य एशियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) गठबन्धनको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा नेताद्वय पुटिन र सीबीच नियमित भेट हुने गरेको छ र यसको पछिल्लो सत्र कजाकिस्तानको राजधानी अस्तानामा भइरहेको छ।
सम्मेलनमा टर्कीएका राष्ट्रपति एर्दोगान पनि सहभागी हुनुहुनेछ । उहाँको देश समूहसँग ‘वार्ता साझेदार’ हो भने अन्य मुलुकमा मध्य एशियाली पूर्व सोभियत राज्यहरू, भारत, चीन, रूस र इरान पूर्ण सदस्य रहेका छन् ।
चीन, भारत, इरान, रूस, कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका नौ पूर्ण सदस्य राष्ट्र हुन् । पश्चिमा प्रतिबन्धित इरान पूर्ण सदस्यका रूपमा सामेल भएको एक वर्षपछि युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको कारण बहिष्कृत भएको बेलारुस बिहीबार १० औं पूर्ण सदस्य बन्नेछ ।
रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् ।
मस्कोलाई समर्थन गरेको भन्दै पश्चिमा मुलुकबाट आलोचना खेपिरहेका सीले बुधबार पुटिनलाई आफ्नो ‘पुरानो मित्र’लाई फेरि भेट्न पाउँदा खुसी लागेको बताएका थिए ।
टर्कीएका राष्ट्रपति एर्दोगानले बुधबार पुटिनलाई टर्कीमा निमन्त्रणा गर्दै युक्रेनमा ‘दुवै पक्षलाई सन्तुष्ट पार्न सक्ने निष्पक्ष शान्ति’ का लागि आह्वान गरेका थिए । उनले युद्धरत देशहरूबीच मध्यस्थता गर्ने प्रयास गरेका छन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी भएको छैन ।
एससीओको स्थापना सन् २००१ मा भएको थियो तर पछिल्ला वर्षहरूमा यो निकै चर्चामा आएको छ । सङ्गठनले सुरक्षा र अर्थतन्त्रमा ध्यान केन्द्रित गर्दै अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनसँग प्रतिस्पर्धामा सहयोगको लागि एक प्लेटफर्म हुन अभिप्रेरित गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कजाखस्तानका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा गठबन्धनले ‘वैकल्पिक अन्तर्राष्ट्रिय मञ्च, शक्तिका विभिन्न केन्द्र छन् भन्ने कुरा विश्वसामु प्रदर्शन गरेको’ भन्दै सङ्गठनको प्रशंसा गरेका छन् ।
यो गठबन्धनले विश्वको ४० प्रतिशत जनसङ्ख्या र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गरेको छ तर यो पनि विवादरहित समूह भने बन्न सकेको छैन । यसका कतिपय सदस्यबीच भूगोल र राजनीतिक दृष्टिकोणका कारण आपसी मनमुटाव रहेको देखिन्छ ।
रूस र चीन पश्चिमी प्रभुत्वविरुद्ध एकजुट भएपनि मध्य एसियामा उनीहरू आर्थिक प्रतिस्पर्धी हुन् । यो क्षेत्र तेल र ग्यासमा धनी छ र एशिया र युरोपबीचको महत्त्वपूर्ण यातायात मार्ग पनि हो । चीन र भारत पनि साझा सीमा भएका दुई छिमेकी राष्ट्र हुनुको अलावा आर्थिक विकासको हिसाबबाट विश्वका प्रमुख प्रतिस्पर्धी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीच बेला बेला सीमा क्षेत्रको बिषयलाई लिएर सम्बन्धमा उतारचढाव देखिने गर्छ ।