सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई



काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाका १ गरि २१ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आफ्नो दल एमालेबाट ८ जनालाई मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।


सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्ने व्यक्तिले सरकोको प्रवक्ता हुने प्रचलनअनुसार गुरुङले सो जिम्मेवारी पाएका हुन् । उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री साथै एमालेका उपमहासचिवसमेत हुन् । २०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका गुरुङ विसं २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष निर्वाचित भए। उनी पञ्चायतकालमै पटकपटक प्रहरी हिरासतमा परेका थिए।

विसं २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा उनी हारेका थिए। पहिलोपटक उनी लमजुङ क्षेत्र नम्बर २ बाट विसं २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

यसअघि गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए।

आदिवासी जनजाति महासंघको नेतृत्वसमेत लिएका गुरुङ लमजुङमा कम्युनिस्ट राजनीतिलाई बलियो बनाउन भूमिका खेलेका नेतामध्ये प्रमुख मानिन्छन्। दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक र पाका नेताका रूपमा चिनिन्छन्।