सरकारको निर्णय– बाढी पहिरोका कारण १० दिनसम्म बेपत्ता भए मृतक सरह राहत उपलब्ध गराउने



काठमाडौं । सरकारले विपदका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।


नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि आज पहिलो मन्त्रिपरिषद्को बैठक बसेको हो । हिजो (आइतबार) प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज राष्ट्रपति निवासमा पद तथा गोपनीयताका शपथ लिएका थिए । पद तथा गोपनीयताको शपथ लिएसँगै ओलीले २ उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

यसअघि विपदका कारण वेपत्ता भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने बारे कुनै पनि निर्णय नरहेको बताउँदै मन्त्री गुरुङले उक्त निर्णय भएको जानकारी गराए ।

त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, नेपाललाई एक वर्षभित्र सडक बालकालिकामुक्त बनाउनेलगायतका निर्णयहरु भएका छन् ।