विगतका सरकारले ल्याएको जनप्रिय कार्य कार्यान्वयन हुनुपर्छ : पूर्वमुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका जनप्रिय योजना वर्तमान सरकारले हटाएको भन्दै विरोध जनाएका छन् ।

संसदीय पत्रकार मञ्च विराटनगरको कार्यकक्षमा पत्रकारसँग आज कुराकानी गर्दै उनले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएकाले मानव केन्द्रित विकासका लागि सुरुआत भएका कार्यक्रम लागू हुनुपर्ने बताए ।


उनले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, ‘जसको जङ्गल उसको मङ्गल जनावर मैत्री जङ्गल’ महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, केशलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिद ब्याज अनुदान र प्रदेशमा सगरमाथ दिवसजस्ता विगतका सरकारका योजना लागू हुनुपर्नेमा जोड दिए ।