लोक–संस्कृति र साहित्यले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन्।

धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे।


‘लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ’, उनले भने।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भन।

‘हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवर्द्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ’ राष्ट्रपति पौडेलले भने।

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवर्द्धनमा उनको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन् भने। यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

त्यस अवसरमा संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताए। उनले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवद्र्धनका सार्थ नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचानमा टेवा पुगेको बताए।

‘गायक थापाका गीतले राष्ट्रभावका साथ नेपालको त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको छ। जसले विश्वभरका नेपालीहरूलाई समेटेको छ’, मन्त्री पाण्डेले भने।

उक्त अवसरमा वरिष्ठ साहित्यकार वैरागी काँईलाले गायक थापाले राष्ट्रभावलाई केन्द्रमा लोक गीत र लोक साहित्यको पहिचान र प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको बताए।

संस्कृतिविद् डा जगमान गुरुङले नेपाली समाज र संस्कृतिमा सामाजिक सद्भाव रहेको भन्दै नेपालको भाषा र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए।

प्रा डा प्राध्यापक अभि सुवेदीले लोक साहित्य र संस्कृतिलाई विश्वभर पु¥याउन महत्वपुर्ण योगदान रहेको बताए। प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले नेपाली वाङ्मयको उत्थान प्रवद्र्धनका साथै स्रष्टाको सम्मानमा प्रतिष्ठानले भूमिका खेल्दै आएको बताए।

सो अवसरमा राष्ट्रपति पौडेलले रु ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काँइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार एलपी जोशीलाई प्रदान गरे।