मानव बेचविखनमा दोषी पाँच जनालाई जेल सजाय



मलेखु । १६ वर्षीया किशोरी (बालिका)लाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।

फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ का ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बुकाे नेचा सल्यान गाउँपालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।


अदालतले त्रिपुरासुन्दरी –१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५–१५ वर्ष कैद र एक–एक लाख जरिवाना गर्ने फैसला गरेको छ । मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरी  एयर इन्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो । मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि  घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो ।

तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनेर किशोरीलाई प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ । मामाघरमा बस्दै आएकी किशोरीलाई भारत पुर्याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरूले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएकी बालिकाको खोजी गर्ने क्रममा उक्त बालिकालाई भेटाएको जनाइएको छ । 

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा उनको उद्धार गरी स्वदेश ल्याइएको थियो । किशोरीलाई दिल्ली पुर्याएपछि घटनामा संलग्न पाँच जना एक महिनाअघि नै नेपाल फर्केका थिए भने एकजना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक–फरक तीन जना तान्त्रिक बाबासँग भेटाउँदै आएको बताइएको छ  ।