मधेस प्रदेशः आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित



जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो ।

यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रू ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ ।


बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो । आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि  बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ । छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।