भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण



बेनी (म्याग्दी) । जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य एकाइको भवनमा तला थप गरेर सुविधासम्पन्न प्रेक्षालय निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताए । भवन निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट १५ लाख र आश्रमको कोषबाट तीन लाख ४९ हजार छ सय ५० प्राप्त भएको अध्यक्ष पुनले बताए । प्रेक्षालयको क्षमता एक सय ५० जनाको हो । हाल ४८ जना ज्येष्ठ नागरिक भवनमा आश्रित छन् ।


यसैबीच, प्रेक्षालयका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को कतारस्थित गण्डकी प्रदेश समन्वय परिषद्ले ५० हजार बराबरका फर्निचर प्रदान गरेको छ ।