भारी वर्षापछिको विपद् : १९ राजमार्ग अवरुद्ध, १४ वटा सडक खण्ड एकतर्फी सञ्‍चालनमा



काठमाडौँ । भारी वर्षापछिको बाढीपहिरोलगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ ।

आज साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा बन्द छ । 



यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ । 

पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्णरूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले आज साँझ विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपदबाट प्रत्यक्ष असर पुगेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।