बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार



काठमाडाैँ । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।


कार्यालयका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरूष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरूष, आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको जानकारी दिए ।

यस्तै भक्तपुरमा १३ पुरूष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको हाे ।

उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो ।

प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाया तथा कुखुराको पनि उद्धार गरेको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।