फलफूल खेती विस्तारका लागि बिरुवा वितरण



पर्वत । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले ठूलो सङ्ख्यामा फलफूलका बिरुवा वितरण गरेको छ ।

किसानलाई व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झन्डै साढे ११ हजार बिरुवा वितरण गरिएको हो । पालिकाको भौगोलिक अवस्था र किसानको मागका आधारमा पर्याप्त मात्रामा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिए ।


अध्यक्ष भुसालका अनुसार किसानलाई सुन्तला, कागती, टिमुर, कफी, एभोगाडो मेकाडामियानटलगायत फलफूलका बिरुवा वितरण गरिएको हो । अहिले वितरण गरिएका बिरुवाबाट किसानले दुईदेखि तीन वर्षमा आम्दानी गर्नसक्ने भएका छन् । पालिकाको फलफूल तथा काष्ठफल विस्तार योजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइएको हो ।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार पालिकाका छवटा वडाका किसानलाई मागका आधारमा बिरुवा उपलब्ध गराइएको हो । धितालले कागती चार हजार दुई सय, सुन्तला तीन हजार तीन सय, टिमुर दुई हजार पाँच सय र कफीका आठ सय बिरुवा वितरण गरिएको छ । त्यसैगरी, तीन–तीन सयका दरले एभोगाडो र मेकाडामियानट वितरण गरिएएको छ ।

बाँदर आतङ्कका कारण खेतबारी बाँझो रहने क्रम बढेपछि वन्यजन्तुको क्षतिबाट बच्ने खालका एभोगाडो र मेकाडामियानट जस्ता फलफूलका बिरुवा पनि पालिकामा भित्र्याइएको हो । गत वर्षदेखि पालिकामा दाँते ओखरको पनि व्यावसायिक खेती थालिएको कृषि शाखा प्रमुख धितालले जानकारी दिए । हरेक किसानले सुन्तला १५ देखि २०, कागती २५, एभोगाडो छ, मेकाडामियानट १५, टिमुर ५० र कफीका बिरुवा एक सय १० का दरले वितरण गरिएको धितालले बताए ।

परम्परागत कृषिवालीमा आश्रित यहाँका किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको छ । घरको आँगन, बारी र खाली जमिनमा बिरुवा लगाई किसानलाई व्यावसायिक र फलफूलमा आत्मनिर्भर गराउन बिरुवा वितरण कार्यक्रम प्रभावकारी हुने पालिकाको अपेक्षा छ । धान, मकै, आलु जस्ता बालीमा बाँदरले ठूलो नोक्सानी पु¥याउन थालेपछि खेतबारी बाँझै राखेका किसानलाई फलफूल विस्तार अभियानले उत्साहित बनाएको छ ।

पालिकाले उपलब्ध गराएका बिरुवा किसानले लगाएर छाड्ने मात्र नभई स्वरोजगारमूलक ढङ्गबाट लगाउन आग्रह गरिएको छ । यसको उचित संरक्षण र रेखदेख गर्न सके गाउँमै पर्याप्त आम्दानी गर्न सकिने भएकाले पनि फलफूलका बिरुवाको उचित संरक्षण गर्न पालिकाले आग्रह गरेको छ ।