प्रधानमन्त्रीको जादुमय अंकले हामीलाई नै विश्वास गर्न छोडेपछि कांग्रेससँग मिल्यौँ : योगेश भट्टराई



काठमाडाैं। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आएको दावी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै भट्टराईले बर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ समीकरणको निर्णय भएको बताएका हुन्।


उनले भने– ‘हामी राम्रो मनासयले पुष्पकमल दाहालको सरकार जाओस् भनेर नेकपा एमाले अलिकति लो प्रोफाइलमा बसेर, अलिकति तल बसेर, यो देशमा शासकीय स्थायित्व हुन्छ भने हामी अगाडि बढौँ, पुष्पकमल दाहालजीलाई यो अवसर दिऔँ भनेर नै हामीले ती तमाम निर्णय गरेका थियौँ । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले जादुमय अंक भनिरहनुभएको थियो, त्यो जादुमय अङ्कले नेकपा एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो ।’ 

उनले अगाडि भने– ‘हामीले गाँइगुँई सुन्यौ, नेपाली कांग्रेस, शेरबहादुर देउवालाई बोलाएर राष्ट्रिय सरकार बनाऔँ भन्ने प्रस्ताव गर्नुभएछ । राष्ट्रिय सरकार त्यति नाजायज पनि होइन । तर आजको यो तमाम समस्याको हल गर्नका निम्ति राष्ट्रिय सरकारको नेतृत्व गर्दा ठिक हुन्छ ? कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार भन्दा एमालेलाई सरकारबाट बाहिर राख्ने मनासय पनि राख्नुभयो । त्यसमा पनि हामीलाई आपत्ति थिएन । हामी तयार नै छौँ तर हामीले बिचार गर्‍यौँ, उहाँ फेरि कांग्रेसमा जाने र फेरि एमालेमा आउने रोटेपिङले देश कहिँ पनि जाँदैन भन्ने बिचार गर्‍यौँ, उहाँको कुर्सीको आयु केही समय लम्बिए देश जहाँको त्यहीँ रहन्छ भन्ने बुझेर यो स्थितिमा कांग्रेस सभापति देउवा र हाम्रा अध्यक्षबिच कुराकानी भएर सरकार बनाउने गम्भीर निर्णय भएको छ ।’