प्रधानमन्त्री ओलीको स्पष्टोक्तिः संविधान संशोधनको क्रममा धर्मनिरपेक्षता तलमाथि हुँदैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षतामा तलमाथि नहुने प्रष्ट पारेका छन् । आज (बुधबार) डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो देश सबै धर्मावलम्बीहरुको साझा थलो रहिरहने बताएका हुन् ।

‘यो देश, यो देशको राज्य सिङ्गै नेपाली जनताको हो । कुन धर्म मान्छ, कुन धर्म मान्दैन, बेग्लै कुरा हो । सबै धर्मावलम्बीहरुको साझा देश हो । तसर्थ यो देश यस धर्मको हुन्छ, त्यस धर्मको हुँदैन भन्ने कुरा होईन,’– उनले भने ।


प्रधानमन्त्री ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएको बताए । उनले यसलाई कमजोर हुन नदिइनेसमेत बताए ।

‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो । बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथमै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षुभिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौं,’– उनले भने ।

संविधान संशोधनको एजेण्डा लिएर कांग्रेस–एमाले गठबन्धन सरकार बनेसँग विभिन्न अफवाह फैलाइएको थियो । कांग्रेस–एमाले गठबन्धन सरकारले समावेशी समानुपातिक, धर्मनिरपेक्षताजस्ता संविधानको बेसिक स्ट्रक्चर परिवर्तन गर्न खोजेको आरोप लाग्दै आएको छ ।