प्रतिनिधि सभाको १५ दिने तालिका: ६ दिन संसद्, तीन दिन समितिको बैठक



काठमाडौं । प्रतिनिधि सभाको साउन १५ गतेसम्मको कार्यतालिका स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर १५ दिने कार्यतालिका टुंग्याएका हुन् ।

आज सिंहदरबारमा बसेको बैठकले आगामी साउन १५ गतेसम्मको प्रतिनिधिसभाको तालिका निर्धारण गरेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएर अघि बढ्ने उनले बताए । “आजदेखि १५ गतेसम्मका बैठक कुन–कुन दिन गर्ने ? समितिमा रहेका विधेयकहरूलाई काम गर्न समय कसरी मिलाउने भन्नेमा छलफल भयो,” छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।

साउन ६, ७ र ८ गते संसद्को बैठक बस्नेछ । त्यसपछि ९, १० र ११ गते समितिहरूको बैठक बस्ने गरी समय निर्धारण गरिएको उनले बताए । त्यस्तै, १३, १४ र १५ गते पनि संसद्को बैठक बस्ने गरी कार्यतालिका बनाइएको छ ।

भोलि १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय अनुमोदन गरिने उनले जानकारी दिए । समितिमा भएका विधेयकमा छलफल चलाएर छिट्टै संसद्‌मा ल्याउने वातावरण बनाउने विषयमा पनि छलफल भएको छ ।

त्यस्तै, समितिका सभापतिहरू मन्त्री बनेकाले खाली भएको समितिमा दलका प्रतिनिधिलाई छिट्टै पठाउन सभामुखले आग्रह गरेका छन् । संयुक्त समितिलाई अविलम्ब टुंग्याउन पनि आग्रह गरेको मूख्य सचेतक बर्तौलाले जानकारी दिए ।