प्रचण्ड–शेखरबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (शनिबार) विहान प्रधानमन्त्री प्रचण्ड र कोइरालाबीच भेटवार्ता भएको हो । उनीहरुबीच करिब डेढ घण्टा छलफल भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनी बालुवाटार पुगेका थिए । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा छन् । उनले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।


आफ्नो पक्षमा ६३ सांसदहरुको मात्रै समर्थन हुँदा पनि उनले संसद् फेस गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक छ । तर, अहिले उनको पक्षमा माओवादीका ३२, एकीकृत समाजवादीका १० र राष्ट्रिय स्वतन्त्र पार्टीका २१ गरी ६३ सांसद मात्रै छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य अगाडि बढाउन चाहेपनि सभापति शेरबहादुर देउवाले प्रस्ताव अस्वीकार गरेका थिए । देउवाको प्रस्ताव अस्वीकार भएपछि विकल्पहीन बनेका प्रचण्डले शेखरसँग छलफल गरेका हुन् । प्रचण्ड र शेखरबीचको भेटवार्तालाई विशेष रुपमा हेरिएको छ ।