पहिरोमा परी गम्भीर घाइते चारजनाको सेनाको हेलिकप्टरबाट उद्धार



काठमाडौं । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गएराति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उनकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् ।


उनीहरुको शरीरमा गम्भीर चोट लागेको वडा अध्यक्ष सिंहले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।

मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उनले बताए। भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताए । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको वडाअध्यक्ष सिंहको भनाइ छ ।