पहिरामा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो



वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ ।

शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।


स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासूबुहारी बस्दै आएका थिए ।

पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।