वासिङ्टन । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् ।
अमेरिकी राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राखेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गरेका हुन् ।
“हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ”, बाइडेनले वासिङ्गटनको सम्मेलन सेन्टरमा गठबन्धनको औपचारिक निर्णय गर्ने निकाय नर्थ एटलान्टिक काउन्सिललाई भने ।
उनले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गरेका छन् । यसअघि उनले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गरेका थिए ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, “एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।”
शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो ।
बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गरेका थिए । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गरे ।