रसुवा । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय यहाँको सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । नागरिकका मागलाई तत्काल सम्बोधन गर्दै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।
उनका अनुसार कार्यालयले विगत एक वर्षमा सुरक्षाका लागि आफ्नो नियमित कामअन्तर्गत १० प्रकारका मुद्दामा २४ र रसुवागढी नाकामा अवैध काम गर्ने १६ जनासमेत पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रमुख भट्टराईले भने “ रसुवामा मुद्दाको चाप अत्यन्तै न्यून छ । गत आवमा जाहेरी पेश भएका सबै मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत समक्ष पेस भएको छ । उक्त मुद्दामा आरोप लागेका ११ फरार अभियुक्तको खोजी तीव्र पारिएको छ ।”
सुरक्षा व्यवस्था सुदृढ पार्न जिल्ला प्रहरी कार्यालयको मातहतमा एक इलाका प्रहरी र १४ प्रहरी चेक पोष्ट-चौकी खडा गरिएका छन् । नियमित गस्तीको व्यवस्थापनले जिल्लाको सुरक्षा सुदृढ रहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीतर्फ भएको जनचेत कार्यक्रमले सवारी दुर्घटनामा अत्यन्तै न्यून रहेको छ । गत वर्ष साना ठुला २६ सवारी साधन दुर्घटना भई २६ घाइते र तीन जनाको मृत्यु भएको बताइएको छ । कारबाहीतर्फ भने सवारी नियम उल्लङ्घन गर्ने चार हजार सात सय ५० वटा सवारी चालक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकबाट कारबाही स्वरूप रु ५४ लाख ६७ हजार राजस्व खातामा दाखिला गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए । उनले पटक पटक भएको जनचेतना कार्यक्रमले दुर्घटनामा कमी हुँदै गएको बस तथा अन्य सवारीसाधनको छतमा बस्ने परिपाटी अन्त्य भएको बताए ।
अदालतको फैसला अनुसार फरार १६ प्रतिवादी अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । रसुवागढी नाकाबाट अवैध तबरले सुन, चाँदी, लत्ताकपडा, विद्युतीय, उपकरण भेपलगायत रु पाँच करोड ५५ लाख १४ हजार ३९२ मूल्य बराबरका सामग्री आयात गराउने २६ जनालाई कारबाही गर्न सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।