देशभर दुई हजारभन्दा बढीमा डेङ्गु संक्रमण



काठमाडौं। देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा संक्रमण देखिएको जानकारी दिए।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको संक्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए।


मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको संक्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ। यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ।

उपत्यकामा तीन सय १६ जनामा संक्रमण

उपत्यकामा मात्रै तीन सय १६ जनामा डेङ्गुको संक्रमण देखिएको छ। काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो।

रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। ‘डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ’, उनले भने।