पाटन। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन्। विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउँदै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए।
‘देशको क्षमताभन्दा बढी बाघको संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको संख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ । यस्तो अवस्था आउन दिनु हुँदैन’, उनले भने, ‘प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन। मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ।’
कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए। उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए। वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो।
विसं २०७३ मा आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायकस्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापनागरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराए।
तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैँसी चराउन जंगलमा जाँदा प्रकृतिसँग रमाउन थालेँ, त्यसैबेला मैले बाघ पनि देखेँ, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सबैसँग प्रेम हुन थाल्यो।”
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ वन्यजन्तु नेपालमा पाइने भन्दै तीनै तहका सरकार, सङ्घसंस्था र सरोकारवालाबीच संरक्षणका लागि साझेदारी र समन्वय हुनुपर्ने बताए। उनले बाघको संरक्षणका लागि ठूलो घाँसे मैदानका साथै वन, पानीसहितको बासस्थानको व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराए। ‘बाघलाई वनभित्र रहने र मानिसलाई निकुञ्जभित्र पस्न नदिने व्यवस्था गरिनुपर्छ, विकास र वातावरणबीचको सन्तुलन मिलाउनुपर्नेछ। निकुञ्ज व्यवस्थापन र संरक्षणबाट राष्ट्रिय पर्यटनको आम्दानी वृद्धि गरिनुपर्छ’, मन्त्री ठकुरीले भने। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित संरक्षणका साझेदारहरू मिलेर बाघको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाको अहिलेको स्थान नपुग भएकाले यसका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरे। उनले कोरोनाकालमा वन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएको स्मरण गर्दै वन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्वपूर्ण सम्बन्ध छ भने। महानगर प्रमुख महर्जनले चिडियाखानामा सबैभन्दा बढी खर्च लाग्ने एउटा जनावरको खानाका लागि महानगरले वार्षिक रूपमा रकम उपलब्ध गराइरहेको जानकारी गराए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र सोहीअनुसार ऐन, नियम तथा कानुन बनेको जानकारी गराए। जैविक विविधताका दृष्टिले नेपालको तराई भूपरिधि क्षेत्र उपयोगी रहेको उनले बताए। संरक्षणमा पु¥याएको योगदानका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा नेपाललाई सम्मान गरेको जानकारी गराउँदै महानिर्देशक डा ढुंगानाले यसबाट नेपालको पर्य–पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुगेको धारणा राखे।
वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघको संख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताए। बाघको बासस्थानको संरक्षण र आहारको व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुहुँदै उनले मानव वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढ्दो अवस्थामा रहेको धारणा राखे।
प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागको तुलनामा बाघ, वन्यजन्तु तथा चराचुरुंगीको संरक्षणमा अग्रणी स्थानमा रहेको बताए। कार्यक्रममा सदर चिडियाखानासँग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाले बाघ संरक्षणका सन्दर्भमा लघु नाटकसमेत प्रदर्शन गरेका थिए।
‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नाराका साथ यस वर्षको विश्व बाघ दिवस मनाइएको छ। सन् १९७० को दशकबाट मात्रै नेपालमा बाघ संरक्षणको प्रयास भएको पाइन्छ। बाघको संख्या सबैभन्दा धेरै हुने विश्वका १३ राष्ट्रमा नेपाल पनि पर्दछ। रसियाको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने १३ राष्ट्रबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो। त्यसबेला नेपालमा बाघको सङ्ख्या एक सय २१ थियो। त्यसपछि सन् २०१४ मा एक सय ९८, सन् २०१८ मा दुई सय ३५ र सन् २०२२ मा नेपालका चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा र पर्सासहित पाँच वटा निकुञ्जमा रहेका बाघको सङ्ख्या तीन सय ५५ पुगेको थियो। हरेक चार वर्षमा बाघको संख्या गणना गर्ने व्यवस्थाअनुसार अब सन् २०२६ मा नेपालमा बाघको संख्या गणना हुनेछ।