जबरजस्ती करणी मुद्दामा सन्दीप लामिछानेले सफाइ पाएको फैसलामा के छ ? (पूर्णपाठसहित)



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिनेगरी उच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र अन्जु उप्रेती ढकालको इजलासबाट भएको फैसलामा अभियोग दाबी पुग्न नसक्ने भन्दै लामिछानेलाई सफाइ दिइएको थियो ।

सन्दीपले गरेको इन्कारी बयान, गौशला २६ ले पठाएको म्यासेज, उनको शारीरिक परीक्षण प्रतिवेदन, शारीरिक अवस्था, घटनास्थलल मुचुल्का, घटना विवरण काजग गर्ने काठमाडौं होटल इन का सेक्युरेटीगार्ड राजन राणाले गरेको वकपत्र, मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरु समेतबाट अभियोग दाबी पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ ।


उच्च अदालतले सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर छ ।

उमेर पुगेका व्यक्तिहरू बिच जबरजस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबरजस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको पनि इजलासको ठहर छ ।

पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख छ ।

‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

सन्दीपविरुद्ध गौसला २६ (परिवर्तित नाम) ले जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले दोषी ठहर गरेको थियो । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

https://drive.google.com/file/d/1cQFyvH9u6RKhMIgr0OsQDrCiLJTKTw7E/preview