कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा



गुल्मी। पहिरोले पाँँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो।

गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा हटाएपछि सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए।


गुल्मीको पुर्तिघाट खण्डसम्म सडक सञ्चालनमा आए पनि बागलुङतर्फ जाने सडक अझै अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन्।

आइतबारदेखि अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास‐रिडी सडकखण्ड मंगलबार बिहानदेखि सञ्चालनमा आएको छ। उक्त सडकखण्डको गुल्मी दरबार गाउँपालिका–४ स्थित वीरबासमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो। सडक सुचारु भएसँगै बीचमा रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन्। वर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा बाढीपहिरोकोे प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गरेको छ। कुनै समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय पालिका वा प्रशासनमा खबर गर्न सूचना प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।