काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसदका दुई ठूला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।