ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने



अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन गरेका छन् । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ ।

“यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौं, उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।


“हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।

प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये एक हुन् । ह्यारिसले आइतबार नै राष्ट्रपति जो बाइडेनको समर्थन प्राप्त गरिसकेकी छन् ।

ओबामाको समर्थनले ह्यारिसको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउनेछ । अन्तिम समयमा उम्मेदवारी घोषणा गरेदेखि नै समर्थनको आधारहरू बढ्दै गएका छन् ।