उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट



काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।   सोमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गरेका हुन् । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । 

भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे । 


‘सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोगबारे छलफल भयो । सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे पनि छलफल भयो,’ भेटमा सहभागी सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए । 

त्यस्तै कोरियाका राजदूत पार्कसँग पनि नेपाल र कोरियाबिचमा कुन–कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।