सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गरे।


“छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ”, उनले भने, “पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगाम दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ।”

पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उनको भनाइ थियो। उजले कसैसँग पनि नबहकिकन साच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गरे।

छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए।