सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिसभामा बोल्दै उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए । उनले यसको यथार्थलाई जनताले राम्ररी बुझेको बताए ।


सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको उनको भनाइ थियो ।

‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनर्निर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ’, प्रचण्डले भने ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए । उनले माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै माओवादीलाई रूपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिने बताए ।

माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए ।