सात करोडभन्दा बढी ठगी गरेको आरोपमा सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ



काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–२० स्थित मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुनिल महर्जनसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । उनीहरुले बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेमा अध्यक्ष महर्जनसहित उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा रहेका छन् । अध्यक्ष महर्जन सो सहकारीमा २०७० सालदेखि अहिलेसम्म अध्यक्ष थिए । उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, बचतकर्ताको रकम आफुखुसी लगानी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


अध्यक्ष महर्जन २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मलिका महर्जन २०७६ सालदेखि अहिलेसम्म उपाध्यक्ष पदमा कार्यरत रहेको पाइएको छ । सचिव कवा ०७६ सालदेखि सो पदमा कार्यरत थिए । उनी हाल इवामुरा कलेज, भक्तपुरमा प्रशासन शाखामा पनि कार्यरत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुयोग बहुउद्देश्यीय सहकारीका १ हजार २ सय बचतकर्ताहरुले उनीहरुविरुद्ध जाहेरी दिएका थिए । उक्त सहकारी संस्थाको निक्षेप ४५ करोड रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here