सरकारले तोक्यो धानको मूल्य



काठमाडौं। सरकारले धानको मूल्य तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धानको मूल्य तोकेको हो। बैठकले आर्थिक वर्ष २०८१–८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लीयरेन्स डिपोट र अरनिको राजमार्गको चौथो चरण निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रहरुमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।


बैठकले संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here