सरकारबाट बाहिरिने एमालेको निर्णय, ८ मन्त्रीले आजै राजीनामा दिँदै



काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सो निर्णय अनुसार एमालेका मन्त्रीले आजै राजीनामा बुझाउनेछन् ।मन्त्री फिर्तासँगै समर्थन पनि फिर्ता लिने एमालेले निर्णय गरेको छ ।


पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायत रहेका छन् ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

 कांग्रेससँग सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छैनन् । यसैले उनको सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने कि प्रधानमन्त्रीको राजीनामा पर्खिने भन्नेबारे निर्णय लिन पनि एमालेको सचिवालय बैठक बसिरहेको हो ।

कांग्रेससँग सहमति भएपछि अध्यक्ष ओलीले मंगलवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । तर कांग्रेस र एमालेबीच कुनै लिखित सम्झौता भएको विषय सार्वजनिक नभएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनेभन्दा संसदमा विश्वासको मतको सामना गर्ने संकेत देखाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here