काठमाडाैँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएकोमा चिन्ता व्यक्त गरेका छन्।
तीन वर्षमा सक्ने गरी १६ असोज ०७६ मा निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरूलाई बोलाएर जानकारी लिए।
यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मंसिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरूप गर्न सभामुख घिमिरेले निर्देशन दिए।
‘भवनमा अहिले सात इन्चको टेलिभिजन स्क्रिन राखिएको रहेछ, बजारमा १५ इन्चसम्मको स्क्रिन आइसकेको छ, ठूला स्क्रिनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुर्याउनुपर्छ, भवन निर्माण प्रगतिबारे एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्ने गरी काम हुनुपर्छ,’ उनले भने।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रस्ट हुनुपर्ने उल्लेख गर्दै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रूपमा साजसजावट गरिनुपर्ने बताए।
सात इन्चको टेलिभिजन स्क्रिनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उनेको पनि भनाइ थियो। अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकैपटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रूपमा समयमै सकिनुपर्ने बताए । निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए।
उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौताबाहिरका सामग्री राखिन नहुने धारणा राखिन्। तोकिएकै समयमा गुणस्तरीय रूपमा काम सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मंसिरसम्म संसद् भवन निर्माण सम्पन्न गरी हिउँदे अधिवेशन त्यहीँबाट गरिनुपर्नेमा जोड दिइन्। सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आगामी हिउँदे अधिवेशनसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाका भवन सक्ने गरी काम गरिने बताए।
निर्माण व्यवसायीलाई दैनिक पाँच सय कामदार लगाएर काम गर्न निर्देशन दिए पनि हाल करिब एक सय ५० ले मात्र काम गरिरहेको जानकारी उनले गराए।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१.५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । आयोजनाका सबै काम सम्पन्न गरी हस्तान्तरण गर्न १८ चैत ०८१ सम्मको समय थप गरिएको जानकारी पनि उनले दिए।