संविधान जोगाउन कि कसैलाई जोगाउन नयाँ गठबन्धन बन्यो भन्ने सबैले बुझेका छन्ः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धानको फाइल खोलेपछि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले संविधान जोगाउनका लागि नभई कसैलाई जोगाउनका लागि नयाँ गठबन्धन बनेको दाबी गरेका हुन् ।


उनले के कारणले नयाँ गठबन्धन बनेको भन्ने कुरा नेपाली जनताले बुझेको बताए । उनले बेचन झा फक्राउपछि नयाँ गठबन्धन बनेको संकेत गरे । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही दिनअघि बेचन झालाई पक्राउ गरेको थियो ।

उनले भने, ‘जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो । मैले के भन्नु र ? सबै कुरा स्पष्ट भइसकेको छ । तपाईंहरूले देखिहाल्नुभएको छ।’

गृहमन्त्रीले कांग्रेस र एमालेलाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आउनु हास्यास्पद भएको बताए । उनले भने, ‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने सबैले बुझेकै कुरा हो। बेचैनीको अरू के अर्थ होला र ?’

उनले मुलुकका ठूला दल मिलेर सरकार बनाउनु गलत भएको बताए । उनले प्रश्न गरे, ‘मुलुकमा के संकट आयो र ठूला दल मिल्नु पर्यो ? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here