शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म एक सय १८ महिला र दुईजना बालिकाले सेवा पाएका हुन् ।

सेफ हाउसमार्फत हिंसाजन्य घटनामा परेका महिला र बालिकालाई आश्रय दिई न्यायका लागि पहल हुँदै आएको छ । सेफ हाउस सञ्चालक समितिका अध्यक्ष पुष्पा केसीका अनुसार घरेलु हिंसामा परेका ६५, जबर्जस्ती करणीका दुई, बहुविवाहका तीन, अलपत्र परेका १२, गालिगलौज र लेनदेनका २४ र अंशसम्बन्धी विवादका दुईजनालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।


“सेफ हाउसमा मद्दत माग्न आएका हिंसापीडित महिला र पीडकलाई प्रहरीको रोहवरमा छलफल गरी मेलमिलाप पद्धतिबाट मिलापत्र गराउने कार्य गरिएको छ”, उनले भने, “मिलापत्र गर्न नमिल्ने विवादलाई प्रहरीको सहयोगमा न्यायका लागि अदालतसम्म पुर्याएर पीडित महिलालाई न्याय दिलाउने कार्य गरेका छौँ ।”

हिंसाजन्य घटनामा परेर मानसिक तनावमा रहेका २४ जना महिलालाई मनोविमर्श दिने कार्य गरिएको उनले उल्लेख गरे । इलाका प्रहरी कार्यालय झलारीमा महिलालाई राख्ने ठाउँ अभाव हुँदा सेफ हाउसमै ल्याएर राख्दै आइएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले घरेलु हिंसामा परी अलपत्र परेका महिलालाई न्याय नपाउँदासम्म आश्रय दिने स्थलका रूपमा सेफ हाउस रहेको बताए । “सेफ हाउसमा अल्पकालीन रूपमा पीडित महिलालाई एक हप्तासम्म राख्न सकिने व्यवस्था छ”, उनले भने, “त्यस्ता महिलालाई खान, बस्न, सामान्य उपचारको व्यवस्था सेफ हाउसले गर्दै आएको छ ।”

नगरपालिकाले विनियोजन गर्ने बजेट थोरै हुँदा सेफ हाउस बन्द हुने अवस्थामा पुगेको सेफ हाउस सञ्चालक समितिका सचिव मधु बोहराले बताए । “बजेटकै कारण सेफ हाउस बन्द हुनबाट जोगाउन नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ”, उनले भने, “पीडित महिलाको आश्रयस्थल बन्द हुनबाट जोगाउन आवश्यक छ ।”

सेफ हाउसका कानुनी सल्लाहकार उद्धवराज भट्टले सेफ हाउस सञ्चालनको सम्पूर्ण जिम्मा नगरपालिकाले लिएर सेफ हाउस सहज रूपमा सञ्चालन गर्नुपर्ने बताए ।

नगरउपप्रमुख कल्पना पन्तले सेफ हाउस बन्द नहुने दाबी गर्दै आवश्यक बजेटका लागि पहल भइरहेको बताए । स्वास्थ्योपचार र औषधिका लागि स्वास्थ्य शाखासँग समन्वय गरी व्यवस्था गरिने उनको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले सेफ हाउसका लागि रु ५० हजार बजेट विनियोजन गरेको छ । चालु आवमा रु दुई लाख बजेट विनियोजन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here