व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रभित्रका लघु, घरेलु तथा साना उद्योग, व्यापार तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याउन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नयाँ व्यवसाय दर्ता, नवीकरण र अनुगमनलाई तीव्रता दिइएको हो ।

चालु आर्थिक वर्षमा नगरका वडा नं १, २, ३, ५, ६ र १० मा व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको छ । छ वटा वडामा सञ्चालित व्यवसाय दर्ता अभियानका कारण हालसम्म पाँच सय ३४ व्यवसायको अनुगमन गरिएको बताउँदै नगरपालिकाका लेखा अधिकृत सञ्जयकुमार शर्माले एक सय ९४ नयाँ व्यवसाय दर्ता भएका जानकारी दिए । नविकरण र नयाँ दर्तासँगै दुई हजार दुई सय २९ व्यावसाय पुगेका छन् ।


यो अवधिमा गरिएको अनुगमन र दर्ताबाट रु १६ लाख ८१ हजार चार सय ४० राजस्व सङ्कलन गरिएको लेखा अधिकृत शर्माले जानकारी दिए । आगामी आवमा पनि अभियान सञ्चालन गरी व्यवसायीलाई करको दायरामा ल्याउने योजना नगरको रहेको छ ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा

रामग्राम नगरपालिकामा रहेका दुई स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । विभिन्न ४५ वटा मापदण्ड निर्धारण गरिएकामा ८० प्रतिशत बढी सूचक पूरा भएपछि किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

वडा नं १६ स्थित शुक्रौली स्वास्थ्यचौकी र वडा नं १४ स्थित अमरौट स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिए । सबै उमेर समूहलाई विशिष्टीकृत सेवा दिने अवधारणाअनुरुप किशोरकिशोरीका लागि पनि मैत्रीपूर्ण सेवाको सुरुआत गरिएको उनले बताए ।

किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ को दफा ५ को व्यवस्थाका आधारमा दुई स्वास्थ्यचौकीलाई मैत्रीपूर्ण संस्था घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । “दुई स्वास्थ्य संस्थामा किशोरकिशोरीका समस्या समाधानका लागि फोकल पर्सन र कक्षको व्यवस्था गरेका छौँ”, उनले भने ।

किशोरकिशोरीमा हुने शारीरिक तथा मानसिक विकास, प्रजनन स्वास्थ्य, विभिन्न रोग तथा अङ्गका विषयमा जानकारी लिन उनीहरु बिना सङ्कोच स्वास्थ्य संस्थामा गएर जानकारी लिन सक्ने छन् । कुनै समस्या भएमा फोकल पर्सनलाई जानकारीसमेत गराउन सक्ने व्यवस्था गरिएको छ ।

आगामी आवमा नगरका सबै स्वास्थ्यचौकीबाट यो सेवा प्रदान गर्ने लक्ष्यका साथ बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । यो अभियानमा ग्रिनतारा नेपालले सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here