व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह



काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानूनी धरपकड बन्द गर्न आग्रह गरेको छ ।​​

नाट्टाको प्रतिनिधिमण्डलले आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)लाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानूनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो ।


जवाफमा श्रममन्त्री अर्यालले यस्तो प्रकृतिका घटना निराकरणका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले   वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेर मात्रै आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दिएका नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए ।

मन्त्री अर्यालले कानूनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले आधारभूत कानूनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिनुभएको पनि थपलियाले जानकारी दिए ।

अध्यक्ष थपलियाले विभागले हवाई टिकट बिक्रेतामाथि टिकट बिक्री गरेकै भरमा विना कुनै छानबिन, स्पष्ट अध्ययन नगरी व्यवसायीलाई त्रसित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबल्याउने क्रियाकलाप गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here